संविधान दिवसको अवसरमा आम माफी पाएका रिगललाई पुनः थुनामा राख्न माग गर्दै बिरोध प्रदर्शन

काठमाण्डौ । संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरूले आन्दोलन गरेका छन् । आज (बुधवार) महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ती दिन माग गर्दै शान्तिपूर्ण खबरदारी बिरोध र्‍याली गरेका छन् । आन्दोलनकर्मीहरुले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए । उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत हुनुहुन्छ ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो । रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए ।  रिगल बिरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।

आन्दोलनकारीहरुले भारतीले न्याय पाउनुपर्ने बताएका छन् । स्वतन्त्रता भनेको यही हो भन्दै प्रश्नसमेत गरेका छन् ।