चिनियाँ नागरिक वाङको निर्देशनमा राहुल महराले इलेक्ट्रिक सिगरेट छुटाउन भन्सार कार्यालय पुगेको खुलाशा
काठमाण्डौ । इलेक्ट्रिक सिगरेट भेपमा सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमहरासहित चारजनाविरूद्व अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्वा दर्ता गरिएकामा राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङ रहेका छन् । निमा छिरिङ भने हाल फरार छन् ।
प्रहरीले उनीहरू विरूद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदाबी गरेको छ ।
अनुसन्धानकाक्रममा नेपालमा सुन तस्करी गर्ने नाइके चिनियाँ नागरिक दाओजिन वाङको निर्देशनमा राहुल महराले इलेक्ट्रिक चुरोट (भेप) छुटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेको खुलेको थियो । दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको छ भने अन्य तीन जनालाई भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाइएको हो ।