इजरायलबाट फर्कन चाहने नेपालीको तत्काल उद्वार गर्न सभामुख घिमिरेको आग्रह
काठमाण्डौ । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन र फर्कन चाहने विद्यार्थीलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
आज (बुधबार) शोक वक्तव्यमार्फत् सभामुख घिमिरेले १० जना नेपालीको शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजविनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख घिमिरेले नेपाल फर्कन चाहने विद्यार्थीलाई सरकारले उचित पहल थाल्न ढिलाइ गर्न नहुने पनि बताउनुभएको छ ।
यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्वार भइसकेको जनाएको छ । गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्वार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा हालसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।

