मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार अपरिहार्य : योगेश भट्टराई

काठमाण्डौ । नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

आज (मंगलबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न तथा आर्थिक र सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको हो ।

सचिव भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्ने बताउनुभएको छ । उहाँले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताउनुभएको हो । उहाँले नेकपा एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।

एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरुको सहभागिता रहने इन्चार्ज भट्टराईले बताउनुभयो । उहाँले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनोट गरिने जानकारी दिनुभयो ।