हालसम्म नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए घर जानका लागि अग्रिम टिकट

काठमाण्डौ । काठमाण्डौको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार ३ सय ४० यात्रुले दशैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्व लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन हिजो (सोमबार) २४ हजार ३ सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोह्त्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिनुभयो ।

अग्रिम टिकट लिनका लागि आइतवार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक बस चल्दै आएको छ । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक बसलाई लक्षित गरी अग्रिम टिकट खुलाए पनि छोटो दुरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ ।

नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिनुभयो ।

चाडपर्वमा नागरीकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो । प्रहरीले चाडबाडमा बढी भिडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ । उहाँले काठमाण्डौ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।