इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा

काठमाण्डौ । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि (मङ्गलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

इजरायलमा गएको शनिबार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीले ज्यान गुमाएका छन् ।