महानगरद्वारा दशैँ–तिहारलाई लक्षित गर्दै धरहराको भूमिगत पार्किङ निशुल्क रूपमा खुला

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले दशैँ, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेरे धरहराको ’अन्डरग्राउन्ड’ (भूमिगत) पार्किङ खुला गरेको छ । न्युरोड, असन, सुन्धारा, भोटेबहाललगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङ नभएर दुःख पाएको गुनासो गरेपछि महानगरले धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो ।

महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धरहराको भूमिगत क्षेत्रको ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । अहिलेलाई अस्थायी रूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने उहाँको भनाइ छ ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तलाको भूमिगत पार्किङ बनाइएको छ । महानगरले अस्थायी रूपमा खुला गराएको धरहराको पार्किङका लागि उत्तर–पूर्वको ढोकाबाट प्रवेश गरेर आफ्नो गाडी पार्किङ गर्न सकिने तथा अहिलेको अवस्थामा चार सय वटा गाडी र सात सय वटा मोटर साइकल अट्ने नगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।