द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण सङ्कलन शुरु, अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था
काठमाण्डौ । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको नेपाल सरकारले बताएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयका प्रवक्ता सेवा लम्सालसहिछ ६ जनालाई सम्पर्क व्यक्ति तोक्दै टेलिफोन नम्बर समेत उपलब्ध गराएको छ । मन्त्रालयले लम्सालसहित सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।
यस्तै, इजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ । सरकारले सम्बन्धित सम्पर्क व्यक्तिमार्फत इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था गरेको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत स्वदेश फर्किन चाहने नेपालीको विवरण सङ्कलन शुरु गरेको जनाएको हो । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना सङ्कलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै अनलाइन रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको छ ।
हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मृतकको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।