एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु, अध्यक्षमा ३ जनाको आकांक्षा
काठमाण्डौ । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो ।
सचिव धर्मराज पाठकका अनुसार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने छ ।
उहाँका अनुसार प्रदेशको नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास भइरहेको छ । सर्वसहमति नभएमा निर्वाचन हुने उहाँले जानकारी दिनुभयो ।
प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ । एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन् । ३ जनाले अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाउनुभएको छ ।
एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ ।