सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने : चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने

काठमाण्डौ ।  सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।

सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाण्डौ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ ठाउँबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ ।

काठमाण्डौ उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुँदैछन् । यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेल, कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा छुट पाउनेछन् । काठमाण्डौ उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ ।

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले थापाथालीको बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाण्डौ उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्दैछ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।