देशभर मध्यम देखि भारी वर्षाको सम्भावना : सर्तकता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौ । देशमा मनसुनी वायुको प्रभाव जारी रहेको छ । हाल  काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

कोसी र  बागमती प्रदेशका केहि स्थानहरूका साथै  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ । आज रातीभने देशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै  बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा तथा तराई भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै देशका केहि स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले बाढी, पहिरो तथा भूक्षय जस्ता जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।