इजरायल र हमासबीच गोलाबारी, युद्धका लागि तयार रहेको इजरायली सेनाको घोषणा
एजेन्सी । इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी चलिरहेको छ । बिहानैदेखि दुवै पक्षबाट ठूलो मात्रामा गोलाबारी र रकेट हानाहान भइरहेको बीबीसीले जनाएको छ ।
जवाफी कारबाही गरिरहेको इजरायलले युद्धका लागि तयार रहेको घोषणा गरेको छ । बीबीसीका अनुसार गाजा पट्टीबाट रकेट आक्रमण र इस्लामिक लडाकु समूह हमासका बन्दुकधारीहरु प्रवेश गरेपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले युद्धका लागि तयार रहेको घोषणा गरेको हो ।
आईडीएफले देशका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन भनेको छ । आईडीएफले गाजा पट्टीमा जवाफी आक्रमण गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित आक्रमणको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी आक्रमण शुरु गरेको हो । गाजा पट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट आक्रमणमा परी मृत्यू हुनेको सङ्ख्या ४ जना पुगेको छ ।
सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबीच पटक पटक युद्ध भएका छन् ।