जितीया पर्वको अवसरमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्व अवसरमा सुख, शान्ति,सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
जितीया पर्वको अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको हो ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘जितिया पर्व नेपालका मधेसी तथा थारु समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुखशान्ति तथा समृद्धिको कामना गर्दै मनाइने एक महत्त्वपूर्ण लोक पर्व हो । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेसी तथा थारु महिलाहरूले निर्जला व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग जितीया पर्व मनाउने परम्परा रहेको छ । यो व्रत बस्नाले सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने जनविश्वास प्राचिनकालदेखि रहँदै आएको छ ।’
नेपालीहरुको मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका चाडपर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानुपर्ने उहाँको भनाई छ ।
यस्तै पूर्वराष्ट्रपति भण्डारीले निराहार एवं निर्जला कठोर व्रत बस्दा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका बारेमा ख्याल राख्न आग्रह गर्नुभएको छ ।
यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।