आजको प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक २०८०’
काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक २०८०’ पेस भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले यो विधेयक पेस गर्नुभएको हो ।
बैठकमा मन्त्री बस्नेतले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतमा आमनागरिकको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विधेयक ल्याउनुपरेको बताउनुभयो ।
आज (बिहीबार) को बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार रहनुभएका उहाँ विसं २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पूर्वसामान्य प्रशासनमन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधिसभाको अर्काे बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेछ ।