एमाले गण्डकी अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको गोकर्ण विष्टको स्पष्टोक्ति
काठमाण्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिनुभएको स्पष्ट पार्नुभयो । व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले सहमतिको प्रयास आफूहरूले गरे पनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनुभयो । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको उहाँको भनाइ छ । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बिचमा प्रतिस्पर्धा हुने कुरा स्वाभाविक भएको सचिव विष्टले बताउनुभयो ।
त्यस्तै अध्यक्ष पदका प्रत्याशी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरूले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनुभयो । अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल सङ्गठनको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
त्यस्तै, मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा तथा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङले उम्मेदवारी दिनुभएको छ ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।