बझाङ भूकम्प प्रभावितहरूको लागि यथाशीघ्र राहत व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाण्डौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङको चैनपुर केन्द्रबिन्दु भएर मंगलबार अपराह्न गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसयता पटक पटक गएका पराकम्पका कारण एक जनाको मृत्यु, दर्जनौँ घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएको समाचारले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ ।

उहाँले एक वक्तव्य जारी गर्दै बझाङको भूकम्पले पुनः २०७२ सालको विनाशकारी भूकम्पको सम्झना दिलाएको भन्दै भूकम्पमा परी ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले भूकम्प प्रभावितहरूको लागि यथाशीघ्र राहत र पुनर्स्थापना व्यवस्था गर्न तथा भत्किएका संचनाहरूको पुनर्निर्माणको पहल गर्न सम्बन्धित निकायहरूलाई आह्वान गर्नुभएको छ । भूकम्पपश्चात आउन सक्ने पराकम्पबाट हुने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत सबैलाई आग्रह गर्नुभएको छ ।