जातीय र धार्मिक सद्भावमा खलल पुग्ने काम नगर्न सरकारको आग्रह
काठमाण्डौ । सरकारले जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ ।
देशका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को आज (मङ्गलबार) को बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने काम नगर्न/नगराउन आग्रह गरेको हो ।
यस्तै सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, एवम् गोपनीयता तथा चरित्रमा आघात पुग्ने शान्ति सुरक्षा भङ्ग हुने कामलाई बढावा दिने, वा प्रचलित कानुन बमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा नगर्न पनि सञ्चारमन्त्री रेखा शर्माले अनुरोध गर्नुभएको छ ।