बझाङ भूकम्प : १ जनाको मृत्यु, १३५ घर भत्किए

काठमाण्डौ । हिजो गएको भूकम्पपछिको पहिरोमा परेर बझाङमा १ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनु भएको छ ।

यस्तै बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।