बझाङमा भूकम्प जाँदा थुप्रै घर तथा विद्यालयहरू पूर्ण रुपमा क्षति
काठमाण्डौ । बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर गएको दुई शक्तिशाली भूकम्पबाट बाजुराको सदरमुकाम मार्तडीस्थित घर तथा विद्यालयहरू पूर्ण रुपमा क्षति भएका छन् ।
भूकम्पले बाजुराको सदरमुकाम मार्तडीस्थित तीन घर, बुढीगंगा नगरपालिकाको एक विद्यालय,खप्तड क्षेडेदह गाउँपालिकाका पूर्व वडाअध्यक्ष हर्क रावतको घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ ।
भूकम्पको केन्द्रबिन्दु रहेको बझाङको मस्टा गाउँपालिकाको तलकोटसंग जोडिएको गौमुल गाउँपालिकामा भएको क्षतिको विवरण आउन भने बाँकी छ । कुण्डा भेगका उत्तरपुर्वी क्षेत्रमा भने घर चर्केका छन् ।
मानवीय क्षति कुनै नभएको हिमाली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जोखबहादुर भण्डारीले बताउनुभयो ।
आज (मङ्गलबार) दिउँसो २:४० मा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको र ३ बजेर ७ मिनेट जाँदा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । क्षतिको थप यकिन विवरण भने आउन बाँकी छ ।