एमाले बागमतीमा सहमतिको प्रयास असफल, १० बजेबाट मतदान सुरू हुने
काठमाण्डौ । गत असोज ८ गतेबाट सुरु भएको नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बिहान १० बजेबाट सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताउनु भएको छ । मतदान पार्टी मुख्यालय च्यासलमा हुन लागेको हो ।
निर्वाचनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ । तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिनु भएको हो ।
यस्तै उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ ।
यस्तै उम्मेदवारी दर्ता पश्चात निर्वाचन प्रक्रियाअनुसार केही जिल्लाको भूगोल तर्फका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्य तर्फका लागि मतदान हुनेछ ।
मतदान पछि आजै मतगणना हुने र निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरिने एमालेले जनाएको छ ।