संविधानमा व्यवस्थित सूचनाको हकको सही सदुपयोग गर्नुपर्ने सभामुख घिमिरेको भनाइ

काठमाण्डौ ।  सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

आज (बिहीबार) काठमाण्डौमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताउनुभयो । उहाँले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको पनि बताउनुभएको छ ।

सभामुख घिमिरेले प्रजातन्त्रलाई स्थिर, समृद्ध र जवाफदेही बनाउनका लागि विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।