धार्मिक सहिष्णुता र सामाजिक सद्भाव थप सुदृढ गर्दै अघि बढ्न प्रधानमन्त्री दाहालको सुझाव
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएको छ ।
इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताउनुभएको छ ।
देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।