दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने डाक्टरहरूको चेतावनी
काठमाण्डौ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले आज (बुधबार) माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।
विरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गर्नुभयो । उहाँले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो । दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने समेत बताउनुभयो ।