देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्धेश्यले आयल निगमले आईपीओ जारी गर्ने

काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

आज (मङ्गलबार) नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यो जानकारी दिनुभएको हो ।

उहाँले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न समय लागेको बताउनुभयो । सर्वसाधारणको समेत स्वामित्व हुने गरी निगमले आईपीओ जारी गर्ने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक थानीले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताउनुभयो । उहाँले  सरकारले व्यवसायीहरूका माग समयसापेक्ष रूपमा चाँडै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसाबले निगमले विसं २०८० असार ३१ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनुभयो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुलप्रसाद मल्लीले डिजल, पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्यासको मूल्य अचानक बढ्दा व्यवसायीहरूलाई समस्या भइरहेको बताउनुभयो । व्यवसायमा लागतअनुसारको मुनाफा आवश्यक हुने भन्दै उहाँले आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्यास उद्योगले विभिन्न समस्या भोग्नुपरेको गुनासो समेत गर्नुभयो ।