बङ्गलादेशको अन्तरिम सरकार नेतृत्वको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई
काठमाण्डौ । बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ ।
बङ्गलादेशमा निम्न वर्गीय उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।
राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । बैठकमा प्रोफेसर डा. मोहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको साहाबुद्दिनको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेशन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनुहुनेछ ।
साहाबुद्दिनले सकेसम्म कम समयमा अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाउनु भएको बताउँदै इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक फलदायी भएको बताउनुभएको हो ।
हाल युरोपमा रहनुभएका युनुसले मङ्गलबार आफू अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको पनि बताउनु भएको हो ।

