पूर्वप्रधानमन्त्री जियालाई कैदमुक्त गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्न आदेश दिनु भएको हो ।
हिजो (सोमबार) राष्ट्रपतिले राखेको बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी हुन्नु भएको थियो ।
बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ७८ वर्षीया जियालाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो । जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको थियो । उहाँ सन् २००१ देखि २००६ सम्म पुनः प्रधानमन्त्री बन्नु भएको थियो ।