द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाण्डौ तराई द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।

मकवानपुरको बकैया गाउँपालिकामा हिजो(सोमबार) धेद्रे सुरुङमार्ग छिचोलिने कार्यक्रममा थियो । नेपाली सेनाका अनुसार प्रधानमन्त्री ओलीले विद्युतीय ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । विस्फोट भएसँगै छिचोल्न बाँकी रहेको भाग भत्केर सुरुङ वारपार भएको थियो ।

उहाँले आयोजनाको काम नयाँ प्रविधियुक्त ढङ्गले अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । छिचोलिएको सुरुङको लम्बाइ १.७२८ किमी छ ।

उहाँले सुरुङ मार्गसँगै मुलुक विकासको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब पूर्वाधार विकासको गति नरोकिने बताउनुभयो । राष्ट्रिय गौरवको यो द्रुतमार्ग निर्माणले देशमा केही भएन भन्ने भाष्यलाई खण्डन गरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग समेत जोडिएको बताउनुभयो । उहाँले खोकनाको जग्गामा राजनीति मात्रै नभई अरू चिजसमेत मिसिएको दाबी गर्नुभयो ।