कर्णालीमा कांग्रेसका चार जना मन्त्रीले शपथ लिए

काठमाण्डौ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आज प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीव विक्रम शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि खाली रहेका मन्त्रालयमा कांग्रेसबाट चार जना नियुक्त भएपछि कर्णाली प्रदेश सरकारले पूणर्ता पाएको छ । माओवादीले गएको साउन ७ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित एक राज्यमन्त्री र दुई मन्त्री गरी चार जना मन्त्री भइसकेका छन् ।