एकीकृत शिक्षा ऐन जरुरी छ : मन्त्री भट्टराई

काठमाण्डौ । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले देशको शिक्षा क्षेत्रलाई सबल र प्रभावकारी बनाउन एकीकृत शिक्षा ऐन जरुरी भएको बताउनु भएको छ । उहाँले विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्म परिमार्जन र पुनर्संरचना गर्नु पर्ने जरुरी रहेको औँल्याउनुभएको हो ।

“नेपालमा विश्वविद्यालयपिच्छे ऐनहरू छन् तर विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन बनिसकेका छैनन्,” उहाँले भन्नुभयो, “हामी अब यी ऐन चाँडै बनाउने तयारीमा छौँ । म एकीकृत शिक्षा ऐन बनाउनपर्छ भन्नेमा प्रतिबद्ध छु ।” सिटिइभिटीको पाठ्यक्रम परिमार्जन र पुनसंरचनाबारे पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभएको हो ।

विद्यालय शिक्षा ऐनमा डेढ सयभन्दा बढी संशोधन दर्ता भएका छन् । ती संशोधनबारे छिटो छिटो छलफल गरी चाँडै ऐनलाई छलफलमा लैजाने योजना मन्त्री भट्टराईले सुनाउनुभयो । अहिले दुई विश्वविद्यालयका विधेयकहरू सदनमा छन् ।

शिक्षा मन्त्रालयले अहिले ऐन, नियम निर्माणलाई प्राथमिकतामा राखेको उहाँको भनाइ रहेको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जनसहित सबै विश्वविद्यालयले शैक्षिक क्यालेन्डर पालना गर्ने अवस्था निर्माण हुने उहाँले उल्लेख गर्नुभयो । नेपाली युवामा उत्साह भर्न युवामैत्री शिक्षा नीति निर्माण गरिने उहाँको भनाइ छ ।

देशभर एक सयभन्दा कम विद्यार्थी रहेका १७ हजार स्कुल भएको तथ्याङ्क पेस गर्दै उहाँले ती स्कुलको व्यवस्थापन उचित तवरले गरिने जानकारी दिनु भएको हो ।