आस्माकुमारी केसी बनिन् मिस नेपाल २०२४
काठमाण्डौ। मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । हिजो (शनिबार) ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल बनेकी हुन् ।
उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् भने मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् । २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
समारोहको सुरुवात प्रथम मिस नेपाल रुवी राणाको मन्तव्यसँगै सुरु भएको थियो । तीन दशक लामो यात्रामा मिस नेपालले ल्याएको सामाजिक र लैंगिक परिवर्तनको चर्चा गर्दै राणाले आफ्नो अनुभव सुनाएकी थिइन् ।
सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए । मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए ।

