मनसुनजन्य विपदमा परी १ सय ५० जनाको मृत्यु

काठमाण्डौ । यस वर्षको मनसुन शुरु भएयता बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदमा परेर १ सय ५० जनाको मृत्यु भएको छ । ४९ जना बेपत्ता भएका छन् ।बाढी पहिरोबाट चार हजारभन्दा बढी परिवार विस्थापित भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

गएको जेठ २८ गते यता बाढी, पहिरो लगायतका विपदमा परी काठमाण्डौ उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक सय ७७ जना घाइते भएका छन् । त्यस्तै ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । विपदका घटनाबाट ४ हजार २ सय १९ घर परिवार विस्थापित भएका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।