तनहुँ काउरेका पहिरो पीडितलाई राहत प्रदान
काठमाण्डौ । तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारको तर्फबाट रु ६ लाख राहत प्रदान गरिएको छ ।
पहिरोमा पुरिएर ज्यान गुमाएका तीन परिवारलाई सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु ६ लाख प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको बताउनुभयो ।
त्यस्तै उहाँले गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५० हजारका दरले राहत रकम प्रदान गरिने बताउनुभयो । पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु ५० हजारका दरले रकम प्रदान गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३ सय २५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छभने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीले रु ५ हजारका दरले आर्थिक सहयोग गरेको छ ।

