तुल्सीलाल जस्ता नेताहरूबाट निष्ठा र नैतिक आचरण सिक्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी (सम्बोधनको पूर्णपाठ)
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आएको बताउनुभएको छ।
बिहीबार तुलसीलाल अमात्यको २७औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो’ विषयक विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले तुलसीलाल जस्ता नेताहरूबाट निष्ठा, आदर्श, त्याग र नैतिक आचरण सिक्नु पर्ने बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले नेपालीले प्राप्त गरेको अहिलेको व्यवस्था कसैको निगाहबाट प्राप्त भएको नभई तुलसीलाल अमात्य लगायतका नेताहरूको त्याग र बलिदानको उपलब्धि भएको बताउनुभयो।
“आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहजरुपमा प्राप्त भएको होइन, यी उपलब्धिहरू तुलसीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटुट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलाबद्ध आन्दोलन पछि प्राप्त भएको हुन् भन्ने यथार्थतालाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो।
तुलसीलाल अमात्यले कम्युनिष्ट पार्टीलाई विसर्जन हुनबाट जोगाउनुभएको भण्डारीको भनाइ छ। केशरजङ रायमाझीले कम्युनिष्ट पार्टी समाप्त गर्न लाग्दा तुलसीलालले जोगाउनुभएको उहाँले बताउनुभयो।
नेपालको प्रगतिशील किसान आन्दोलनमा तुलसीलालको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो। पुष्पलालले मधेसमा किसानहरूका कयौँ जाली तमसुक च्यातेर किसान मुक्तिको लागि काम गर्नुभएको भण्डारी स्मरण गराउनुभयो।
सम्बोधनको पूर्णपाठ
कार्यक्रमका सभाध्यक्ष तथा तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष श्री गोपाल शाक्यज्यू,
नेकपा (एमाले)का वरिष्ट उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू,
नेकपा (एमाले)का नेताहरू– श्री भीम रावलज्यू, श्री मुकुन्द न्यौपानेज्यू तथा श्री केशव बडालज्यू,
जनप्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपालको कम्युनिष्ट, लोकतान्त्रिक एवं किसान आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता, नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिव तथासंयुक्त वाममोर्चाको मानार्थ अध्यक्ष तुल्सीलाल अमात्यको २७औं स्मृति दिवसको अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित यस कार्यक्रममा सहभागी भएर तपाईहरूसँग सात्क्षात्कार गर्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।
यस अवसरमा म अग्रज वामपन्थी नेता तुल्सीलाल अमात्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनुअघि नै २००५ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएका तुल्सीलाल अमात्यले सो पार्टीको भातृ संगठनको रूपमा ‘अखिल नेपाल किसान मजदुर संघ’ गठन गर्नुभएको थियो ।
तर उक्त पार्टीमा रहेर किसान र मजदुरको पक्षमा काम गर्न नसकिने ठहर गरी त्यसबेला भरखर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा संगठित हुनुभयो र २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय संगठन समितिको सदस्य बन्नुभयो ।
यसरी, नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहँदै आउँनु भएका तुल्सीलाल अमात्य वि.सं. १०१९ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएको थियो ।
२००९ सालतिर तुल्सीलालको अगुवाईमा बारा, रौतहट र सर्लाही जिल्लामा ऐतिहासिक किसान आन्दोलन भएको थियो ।
लाखौँ किसानको सहभागिता रहेको उक्त आन्दोलनको सिलसिलामा करोडौँ रूपैयाँ बराबरका जाली तमसुक च्यात्ने काम समेत भएको थियो ।
यस सशक्त किसान आन्दोलनले नेपालमा प्रगतिशील किसान आन्दोलनको विकास र विस्तारमा ऐतिहासिक भूमिका खेल्
२०१५ सालमा सम्पन्न पहिलो ऐतिहासिक आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले विजय हासिल गरेका जम्मा ४ स्थानमध्ये तुलसीलाल अमात्य ललितपुरबाट संसद सदस्यमा निर्वाचत हुनुभएको थियो ।
उक्त संसदमा नेकपाको संसदीय दलको नेताको रूपमा समेत उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनद्वारा निर्वाचित महासचिव डा. केशरजंग रायमाझी सहित बहुसङ्ख्यक केन्द्रीय सदस्यले मुलुकमा निर्दलीय तानाशाही पञ्चायती व्यवस्था लादिएको २०१७ सालको शाही कदमलाई समर्थन गरी राजा समक्ष आत्मसमर्पण गरेपछि २०१९ सालमा बनारसमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्य पार्टीको महासचिवमा निर्वाचित हुनुभएको थियो ।
यसरी, पार्टीलाई दरबारमा बुझाउने र कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने षड्यन्त्रलाई परास्त गर्दै पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको महत्वपूर्ण योगदान रहेको छ ।
यसैगरी, २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न वामपन्थी र नेपाली काङ्ग्रेसमिलेर संयुक्त जनआन्दोलन गर्ने उद्देश्यका साथ विभिन्न ७ वटा कम्युनिष्ट घटकहरू सम्मिलित संयुक्त वाममोर्चाको निर्माणमा समेत उहाँको सक्रिय योगदान रहेको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनको अग्रज महिला नेतृ सहाना प्रधानको अध्यक्षतामा गठन भएको संयुक्त वाम मोर्चामा तुल्सीलाल अमात्य मानार्थ अध्यक्ष रहनुभएको थियो ।
यही वाममोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त पहलमा २०४६ साल फाल्गुण ७ गतेदेखि सञ्चालन भएको ऐतिहासिक जनआन्दोलनको सिलसिलामा ७३ वर्षे वयोवृद्ध उमेरमा पनि त्यस बखत प्रतिबन्धित रहेको कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित रातो झण्डा हातमा लिएर पञ्चायती शासकलाई चुनौती दिंदै खुल्ला रूपले सडकमा आउने उहाँ पहिलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो ।
२०५० साल माघ २८ गते नेकपा (एमाले) र तुल्सीलाल अमात्यले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी बीचको एकीकरणपश्चात् उहाँ नेकपा (एमाले), स्थायी समितिको वरिष्ठ सदस्यको रूपमा क्रियाशील रहनुभएको थियो ।
यही क्रममा २०५१ सालमा नेकपा (एमाले)का तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित सरकारको पालामा उहाँ चीनका लागि नेपालको राजदूत नियुक्त हुनुभई मित्र राष्ट्र चीन र नेपाल बीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न कुटनीतिक भूमिका समेत निर्वाह गर्नु भएको थियो ।
यसरी, नेपालमा जहानीयाँ राणा शासन तथा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएका हरेकआन्दोलनहरूमा सहभागी हुने सिलसिलामा तुल्सीलाल अमात्यलेकैयौँ पटक गिरफ्तारीमा पर्नुका साथै जेलजीवन विताउनु भएको थियो भने तत्कालिन शासकहरूले उहाँको सर्वश्व हरण समेत गरेका थिए ।
तथापि, उहाँ कम्युनिष्ट आदर्शबाट कहिल्यै विचलित हुनु भएन, बरु निस्वार्थ त्याग र समर्पणका साथै स्वच्छ राजनीतिक मूल्य र मान्यताका साथ निरन्तर रूपमा आन्दोलनमा लागिरहनु भयो ।
उहाँको यस उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनु पर्दछ ।
वि.सं. २००१ सालमा नै अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका विद्वान नेता तुल्सीलाल अमात्य राजनीतिक सिद्धान्त, दर्शन र अर्थशास्त्रका ज्ञाता हुनुहुन्थ्यो ।
आफ्ना सार्वजनिक भाषण तथा प्रवचनहरूमा समेत आफुले प्रयोग गरेका तथ्य, तथ्याङ्क र उद्धरणहरूको सन्दर्भ स्रोत समेत उल्लेख गर्ने उहाँको प्रभावशाली शैली रहेको थियो ।
उहाँका भाषण सुन्नेहरूले उहाँको यो शैलीलाई अवश्य पनि ख्यालगरेको हु
सरल जीवन र उच्च विचारका धनी वरिष्ट नेता तुल्सीलाल अमात्यले आजीवन गाउँका निमुखा गरिब किसान, मजदुर एवं आम श्रमजीवी वर्गप्रति देखाउनु भएको वर्ग पक्षधरता, सद्भाव र समर्पण भावलाई एक कम्युनिष्ट नेतामा हुनैपर्ने अपरिहार्य गुणका रूपमा लिन सकिन्छ ।
वि.सं. १९७३ साल जेठ १४ गते पाटनमा जन्मुनुभएका तुल्सीलाल अमात्यको वि.सं. २०५४ साल श्रावण १७ गते ८१ वर्षको उमेरमानिधन भएको थियो । उहाँ दिवंगत हुनुभएको पनि आज २७ वर्ष भएको छ ।
उहाँले आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएयताका सात दशकको अवधिमा नेपाली समाज र राजनीतिमा युगान्तकारी परिवर्तनहरू भएका छन् ।
२०६२/६३ सालमा भएको शान्तिपूर्ण जनआन्दोलनद्वा
यी परिवर्तन र उपलब्धिहरू तुल्सीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटूट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलापश्चात् मात्र प्राप्त भएका हुन् भन्ने यथार्थलाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन ।
नेपाली राजनीतिमा हाल देखा परेको वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा आएको क्षयीकरणको सन्दर्भमा कमरेड तुल्सीलाल अमात्यले जीवनपर्यन्त सिद्धान्त र आन्दोलनप्रति दर्शाउनु भएको प्रतिवद्धता, समर्पण, त्याग, आद
आज विमोचित वरिष्ठ पत्रकार श्री गोपाल थपलियाको जीवनमा आधारित पुस्तक ‘कहिल्यै नझुक्ने योद्धा: गोपाल थपलियाको जीवन यात्रा’का नायक श्री गोपाल थपलियालाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
प्रस्तुत पुस्तकले पत्रकारिताको माध्यमबाट नेपालमा निरङकुशताको अन्त्य र लोकतन्त्रको स्थापनाको लागि पत्रकार गोपाल थपलियाले गर्नुभएको योगदानलाई उजागर गर्नेछ भन्ने विश्वास लिएको छु । साथै, यसबाट नयाँ पुस्ताका सञ्चारकर्मीहरूले आफ्नो कार्य क्षेत्रमा इमान्दारी र दृढताका साथ लागिरहन थप उर्जा एवं प्रेरणा प्राप्त गर्नेछन् भन्ने मैले अपेक्षा गरेको छु ।
साथै, आज पुरस्कृत हुनुभएका उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजयी विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।
अन्तमा, यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा तुल्सीलाल स्मृति प्रतिष्ठानलाई पुन: धन्यवाद दिँदै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद
२०८१ श्रावण १७ गते बिहीबार ।

