एमाले बागमती प्रदेश प्रथम अधिवेशन सुरुहुँदै, उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने

काठमाण्डौ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आज सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आज मध्यान्ह १२ बजेदेखि सुरुहुने कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने छ । अध्यक्ष ओलीले डिजिटल माध्यमबाट चल्ने रोबोर्टको प्रयोग गरेर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमाले बागमती प्रदेश कमिटीका अनुसार अधिवेशनको बन्दसत्र भने भोलि मंगलबार बिहानबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने छ ।

अधिवेशनमा प्रतिनिधिका रूपमा स्थानीय तहबाट १२५ जना संगठित सदस्य बराबर एक जना, एकतिहाई महिला अनिवार्य, १० प्रतिशत ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागिता गराइएको छ । अधिवेशनमा ४० वर्ष मुनिका १२० जना युवा प्रतिनिधिको रूपमा सहभागि हुने छन् ।

त्यस्तै कूल प्रतिनिधिको एकतिहाई अर्थात ३५० जना महिला प्रतिनिधि सहभागि हुने छन् । दलित प्रतिनिधिको हकमा ५० जना बराबर एकको व्यवस्थापन गरिएको छ । अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि हुने छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्ने प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताउनु भयो । उहाँका अनुसार कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने छन् ।

अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको बताए । नेतृत्व चयन सर्वसम्मत नभए निर्वाचनमा जाने एमाले बागमतीले जनाएको छ ।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यसहित आधा दर्जन आकांक्षी देखिएका छन् । अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल (मकवानपुर), कैलाश ढुंगेल (रामेछाप), रचना खड्का (दोलखा), वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे (नुवाकोट), बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ (काठमाडौं) आकांक्षी रहेका छन् ।