पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिले हिजो(बुधबार) मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहन्छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर, जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।