मौसम खबर : देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ । साथै कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उहाँको भनाई छ ।

यस्तै आज राती भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनु भयो । साथै, कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।