संसद भवन निर्माण ढिलाई भएकोप्रति सहरी विकासमन्त्री सिंहको असन्तुष्टि
काठमाण्डौ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माण प्रकृया ढिला भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । पछिल्लो पटक थपिएको समयमा अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुने गरी कामलाई तीव्रता दिन उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनुभएको छ ।
उहाँले समयमै काम सम्पन्न हुने गरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घचघच्याउने काम गरिरहेको पनि बताउनुभयो ।
सहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्न गर्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत १८ गतेसम्मका सो भवनको निर्माण सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

