हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणधीन नयाँ संसद भवन समयमा नै बनाइसक्न निर्देशन दिनुभएको छ ।

आज निर्माणाधीन संसद भवनको अवलोकन गर्दै निर्माणमा देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभएको हो । पर्याप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाई भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।

सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफूले समाधानका लागि पहल गर्ने आश्वासन दिनु भएको छ । ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उहाँको भनाइ छ ।
मन्त्रालयका सचिव मणिराम गेलालले पर्याप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरू छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरू गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ ।

१५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन बन्दै छन् ।