पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक

काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रायको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार रायको हत्या आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई हिजो सार्वजनिक गरिएको हो । मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रायको गएको साउन ७ गते चन्द्रनगर गाउँपालिका–१, रतनपुरको फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियारले टाउकोका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको थियो ।

रायले चन्द्रनगर–१ रतपुरमा बनाएको दुई कोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । केही दिन अघि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेवापत दुई लाख र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ ।

हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा ६ सदस्यीय अनुसन्धान टोली खटाइएको थियो ।