टिआरसी विधेयकका विवादित बुँदाहरु संसोधन गरिने
काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे दलहरू बिच सहमति भएको छ । अहिले त्यसको प्रतिवेदन तयारीको काम भइरहेको छ ।
गृह मन्त्रालयमा सोमबार कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरोकारवालासँग छलफल गरेपछि कानुनी भाषा मिलाएर प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय भएको हो । माओवादी केन्द्रका उपमहासचिव शर्माले टिआरसी विधेयकमा सैद्धान्तिक समझदारी भइसकेकाले कानुनी भाषा मिलाएपछि बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने जानकारी दिनुभयो ।
टिआरसी विधेयकका सवालमा कार्यदलमा समझदारी भइसकेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असार १३ गते तीन सदस्यीय कार्यदल बनाएको थियो । टिआरसीका विवादित चार बुँदामा सहजीकरण गर्न कार्यदल गठन गरिएको हो ।

