मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

काठमाण्डौ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा हुनुभएको छ ।

विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै अर्याल हिजो नै ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनु भएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले एकमुष्ट ३८ करोड ६७ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।