मुद्दा चलेको दुई दशकपछि पूर्वमन्त्री गोविन्दराज सर्वोच्च अदालत बाट पनि दोषी ठहर

काठमाण्डौ। मुद्दा चलेको दुई दशकपछि पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अन्तिम अदालतबाट पनि दोषी ठहर हुनुभएको छ ।

सर्वोच्चमै झन्डै १२ वर्षदेखि विचाराधीन मुद्दामा अदालतले हिजो अन्तिम फैसला सुनाएको हो । सर्वोच्च अदालतले जेठ २० गते मुद्दाको बहस सकेर निर्णय सुनाउने मिति तोकेको थियो । १९ बर्ष अघि विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपियाँ जरिबाना फैसला गरेको थियो । सर्वोच्चले भने विशेष अदालतले तोकेको कैद र जरिबाना दुवै घटाइदिएको छ । सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार जोशीलाई नौ महिना कैद र ६९ लाख १६ हजार रुपियाँ जरिबाना भएको छ ।
विशेष अदालतको फैसलामा चित्त नबुझे पछि जोशीले २०६९ फागुन ६ गते सर्वोच्चमा पुनरावेदन दर्ता गर्नुभएको थियो । सार्वजनिक पदबाट बाहिर रहिसकेको अवस्थामा आफूलाई भ्रष्टाचार निवारण ऐन नलाग्ने जिकिरसहित जोशीले पुनरावेदन दर्ता गर्नुभएको थियो ।