हार्दिकको अलराउन्ड प्रदर्शन, भारतलाई एक खेलअगावै शृंखला
काठमाण्डौ । हार्दिक पाण्ड्याको अलराउन्ड इनिङ्ससँगै भारतले घरेलु टोली श्रीलंकाविरुद्धको ट्वान्टी–२० शृंखला एक खेलअगावै जितेको छ ।
आइतबार राति भएको खेलमा श्रीलंकालाई डिएलएस पद्दतिमा सात विकेटले पराजित गर्दै भारतले शृंखला सुरक्षित गरेको हो । भारत पहिलो खेलमा ४३ रनले विजयी भएको थियो । अन्तिम खेल सोमबार बेलुका हुनेछ ।
श्रीलंकाले १६२ रनको लक्ष्य दिएको थियो तर, वर्षका कारण खेल प्रभावित भएपछि भारतले आठ ओभरमा ७८ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाउँदै ६.३ मा ८१ रन बनाएको हो ।
भारतका यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए । कप्तान सुर्यकुमार यादवले २६ रन बनाउँदा हार्दिक पाण्ड्याले ९ बलमा २२ र ऋषभ पन्त दुई रनमा अविजित रहे।
श्रीलंकाका वानिन्दु हसरंगा, माथीशा पाथिराना र महेश थेक्षानाले समान एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ थालेको श्रीलंकाले कुसर परेराको अर्धशतकीय इनिङ्समा निर्धारित २० ओभरमा खेल्दै नौ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
परेराले ५३ रन प्रहार गरे । पथुम निसांन्का ३२, कामिन्दु मेन्डिस २६, चरित असालान्का १४, रमेश मेन्डिस १२ र कुसल मेन्डिस १० रनमा आउट भए ।
भारतका रवि बिश्नोईले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह र हार्दिक पाण्ड्याको नाममा समान दुई विकेट रह्यो ।

