गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो बर्षा
काठमाण्डौ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दैलेखमा ८५ दशमलव ४ मिलिमिटर पानी परेको छ । यस्तै सिन्धुपाल्चोकको गोब्रेमा ७३ मिलिमिटर, डोटीको दीपायलमा ६७ दशमलव ६ मिलिमिटर र सिन्धुपाल्चोकको बाँसखर्कमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
दोलखा र सिन्धुपाल्चोकमा मध्यमदेखि ठूलो वर्षा मापन भएको हुँदा ती क्षेत्रमा बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम भएको र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने जनाएको छ ।
यस्तै जगाती बाढीमापन केन्द्रले भक्तपुरको हनुमन्ते खोलाले जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

