बागमतीमा मन्त्रिपरिषद विस्तार : १३ मन्त्रीको कार्यविभाजन
काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ। बिहीबार उहाँले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गर्नु भएको हो ।
मुख्यमन्त्री लामाले नियुक्त गर्नु भएका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् । नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि मन्त्रीमा नियुक्त भएर बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।
१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

