नयाँ पुस्तालाई जिम्मेवारी दिन चुनाव नलड्ने राष्ट्रपति बाइडेनको घोषणा

काठमाण्डौ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा गरेपछि डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार बन्नुभएको छ।

नोभेम्बरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको ह्वाइट हाउसबाट सम्बोधन गर्दै बुधबार साँझ बाइडेनले बताउनुभएको हो।

‘राष्ट्रपतिका रूपमा सेवा गर्न पाउनु मेरा लागि गौरवको विषय हो। तर अहिले खतरामा रहेको लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हो,’ उहाँले भन्नुभयो।

‘राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ। तर लोकतन्त्र र मुलुकको हित व्यक्तिगतभन्दा माथि हुन्छ । हाम्रो देशलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उत्तम समय हो ’ उहाँले भन्नुभयो।

बाइडेनले लोकतन्त्रको रक्षा र पार्टीका हितका लागि आफू दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हटेको र नयाँ पुस्तालाई देश हाँक्ने अवसर पनि दिनुपर्ने पनि बताउनुभएको छ।