जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयाेग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो ।

रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् । मन्त्रिपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । समितिलाई ४५ दिनको म्याद दिइएको छ ।

सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान भुइँ छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर बजारिएको प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा परेको विमान ‘सी–चेक’ अर्थात् नियमित मर्मतका लागि पोखरा जान लागेको थियो ।