अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने सञ्चारमन्त्री शर्माको भनाइ

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताउनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उहाँको भनाई छ ।

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरुपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको बताउँनुभयो ।

पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण र संवद्धन गर्दै पत्रकार आचारसंहिता पालनाका निम्ति काउन्सिलले पत्रकारलाई उत्प्रेरित गरेको उहाँको भनाई छ ।

बदलिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुनःसंरचना बारेमा छलफल चलिरहेको बताउँदै काउन्सिललाई पत्रकारिता क्षेत्रको नियमन र स्वनियमनमा बढी केन्द्रीत गर्नुपर्ने सरकारका प्रवक्ता शर्माको भनाई छ ।