मौसम खबर : कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा
काठमाण्डौ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भयो ।
साथै कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको उहाँको भनाई छ । लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनु भएको छ ।
यस्तै आज राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले बताएको छ ।