क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन : अमेरिका
एजेन्सी । क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने अमेरिकाले बताएको छ ।
बीबीसीका अनुसार अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई छुट नहुने बताउनुभएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीच तनाव बढेको छ ।
निज्जरको हत्याका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताउनुभएको बीबीसीले जनाएको छ ।
भारत सरकारले शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।